हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने २७ वर्षीय बिनोद मोक्तान र र कैलाश गाउँपालिका वडा नम्वर ८ बस्ने १८ वर्षीय लोकमान घलान रहेका छन् ।
आईतवार १० बजेर १५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी गस्ती टोलीले मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित पुर्वपश्चिम लोकमार्ग सडककिनारमा शंकास्पद रुपमा हिडिरहेका मोक्तानलाई चेकजाँच गर्दा ५ किलो गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
यस्तै, आईतवार नै १ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ– ५ बास ढुङ्गास्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा घलानले पछाडी बोकेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ३ किलो बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । लागूऔषधसहित पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।








