हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम लोगमार्ग सडकखण्डबाट लागूऔषध गाँजा ३५ किलो ४०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ५ बस्ने २२ वर्षीय किरण घिमिरे र सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्वर ७ घर भई हाल सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ५ बस्ने २५ वर्षीय आकाश तामाङ थिङ रहेको मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।
मनहरी तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना. ५ च २३६१ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बोलेरोको माथिल्लो भागमा त्रिपालले छोपी लुकाईछिपाई ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरे बोलेरो चालक र थिङ बोरेरोमा सवार हुन् । पक्राउ परेको दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।








