चितवन । चितवनबाट पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित दिनेश कोइरालाले कुनै एक बिशेषलाई जिताउनका लागि चितवनमा गठबन्धन नहुने बताएका छन् । भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नै कोइरालाले अस्वभाविक रुपमा कुनै पनि दलसँग गठबन्धन नहुने बताए । “म तपाईंहरुलाई के विश्वास दिलाउन चाहन्छु भने अब अस्वभाविक रुपमा कुनै एउटा व्यक्ति बिशेषलाई जिताउन गठबन्धन हुँदैन ।
केन्द्रीय समितिले त्यो निर्णय गर्दैन, त्यो संस्थागत हुन्छ, उनले भने, चितवनका कुनै पनि कांग्रेसका नेताहरुले अब त्यो पीडा भोग्नु पर्दैन ।” चितवनमा गत स्थानीय तहमा भएको घटना अब नदोहोरिने उनको भनाइ थियो । उनले कुनै व्यक्ति बिशेषलाई जिताउन वा हराउन चितवनमा गठबन्धन नहुने बताए । “तालमेल र गठबन्धनको नाममा धेरै बिकृति आएको छ । तालमेल हुन्छ, गठबन्धन हुन्छ तर राष्ट्रका लागि हुनु पर्यो, लोकतन्त्र संस्थागत हुनका लागि हुनु पर्यो, व्यक्तिमा केन्द्रित होइन, उनले भने, कुनै व्यक्तिलाई हराउन, कुनै व्यक्तिलाई जिताउन होइन ।
म विश्वास दिलाउन चाहन्छु अब चितवनमा केन्द्रबाट यस किसिमको गठबन्धन हुँदैन ।” उनले अघि भने,”मुलुक चलाउन सहकार्य हुनुपर्छ । एउटा पार्टीको बहुमत आउँदैन । सबै पार्टीसँग सहकार्य हुन्छ । तर जुन घटना चितवनमा भएको थियो त्यो घटना अब चितवनमा दोहोरिदैन । मेयर फिर्ता हुँदै गर्दा मलाई साह्रै पीडा परेको थियो । पार्टीले निर्णय गर्यो, मैले विरोध गरे । त्यो गलत थियो । त्यो हिजो नि गलत थियो, आज नि गलत छ ।” उनले १४ औं महाधिवेशनबाट राम्रो परिणाम आएकोले अब कांग्रेस शशक्त पार्टी बन्ने विश्वास व्यक्त गरे ।
पार्टीको नेतृत्वमा युवा र पाकाको समिश्रण रहेकोले कमी कमजोरीलाई सुधार गर्दै आगामी चुनावमा कांग्रेसलाई बहुमतका साथ बिजयी गराउने उनको भनाइ थियो । कोइरालाले कांग्रेस चितवनको जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि प्रयास गरिने बताए । अधिवेशनमा आफ्नो निष्पक्ष भूमिका रहने उनको भनाइ थियो ।
“चितवनमा जिल्ला अधिवेशन हुँदैछ । सकभर सर्वसम्मत बनाउछौं, सर्वसम्मत भएन भने लोकतान्त्रिक पद्धतिमा निर्वाचन हुनेछ, उनले भने, त्यसमा कसैलाई लाखा पाखा हुँदैन । पदको दुरुपायोग हुन दिनेछैन । म निष्पक्ष भूमिका निर्वाह गर्नेछु ।” सोही भेटघाट मार्फत उनले आफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । यस अघि चितवनबाट कांग्रेस केन्द्रीय सदस्यमा नेतृत्व गर्न नपाउदा धेरैलाई अन्याय भएको यो जित सबै कांग्रेस चितवनको जित भएको उनको भनाइ थियो ।
चितवनबाट पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित कोइरालालाई आज भरतपुर बिमानस्थलमा कोइरालालाई भव्य स्वागत गरिएको छ । कोइराला कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलामा निर्वाचित भएका हुन् । डा. शेखर कोइरालाको प्यानलबाट बिजयी उनले एक हजार तीन सय ९४ मत ल्याएका थिए । राष्ट्रिय जेसिसको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका कोइराला चितवन कांग्रेसमा लोकप्रिय छन् ।








