चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको चनौली मालपोत कार्यालयका प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ।
उक्त मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर गरेको हो।
अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग लिएको ३ लाख १४ हजार पाँच सय नगद र २ वटा चेक सहित पौडेललाइ पक्राउ गरिएको थियो । बरामद नगद मध्ये ५० हजार सेवाग्राहीले बुझाएको र दुई लाख ६४ हजार पाँच सय पौडेलको साथमा रहेको अवस्थामा बरामद गरिएको थियो ।
सोही मुद्दाका अर्का आरोपी अमिन कठायतको साथबाट १ लाख ५० हजार नगद र तीन लाख ५० हजारको चेक अख्तियारले बरामद गरेको थियो।
उनीहरु दुबैलाइ मंसिर १५ गते कार्यालयबाटै अख्तियारको टोलीले पक्राउ गरि काठमाडौं लगेको थियो।
कठायतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) को कसुर गरेकोले जम्मा बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (घ) वमोजिम सजायको माग सहित मुद्धा दायर गरेको हो ।
त्यस्तै पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) को कसुर गरेको पुष्टिका आधारमा पचास हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (ख) बमोजिम सजायको मागदावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम शुक्रबार विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।








