चितवन । बाँकेका पाँच जनाको ज्यान लिने नरभक्षी बाघ चितवन ल्याईएको छ । उक्त बाघलाई आज (बिहीबार) चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बुधबार नियन्त्रणमा लिएको उक्त बाघलाई बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडेका हुन् ।
बाघलाई अहिले खोरमा थुनेर राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । बाँकेमा बाघ राख्न ठाउँ नभएकाले चितवन ल्याईएको उनले बताए । बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो।
पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो। साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ। त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो। बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एकेक जनाको मृत्यु भएको थियो। भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो।








