चितवन । माडी नगरपालिका वडा नम्बर ४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधब लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो ।
कार्यालयका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी ५ क्विन्टल, गँहु २ क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज १ थान, टि.भि. १ थान, डिजिटल मेसिन १ थान, सोलार प्यानल ३ थान, ब्याट्री ३ थान, ईन्भटर १ थान लगायत ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन नष्ट भएको छ ।
यस्तै कुखुराको फर्ममा रहेको तयारी कुखुरा १ हजार २ सय र चल्ला १ हजार पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार आगलागी आज बिहान ४ः३० बजे भएको हो ।
आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।








