चितवन । म्यादी प्रहरीमा भर्ना हुनको लागि चितवनमा ११ सय बढीले दर्खास्त बुझाएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारी दिएको जानकारी अनुसार दर्खास्त खुलेको पहिलो दिन आइतबार ७२१ जनाले दर्खास्त दिएका थिए। आज सोमबार दोस्रो दिन साँझ ५ बजे सम्ममा ३८९ जनाले गरि कुल १ हजार ११० जनाले दर्खास्त बुझाएका हुन।
साँझ ५ बजे पछि पनि दर्खास्त बुझाएकाहरुको संख्या भने समाबेश नगरिएको प्रबक्ता अधिकारीले जानकारी दिए। आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भन्दै सरकारले आइतबारबाट म्यादी प्रहरीमा दर्खास्त खुल्ला गरेको हो। चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ। आगामी ११ गते सम्म दर्खास्तको लागि समय तोकिएको छ।
सरकारले तोकेको मापदण्ड अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष सम्मका नेपाली नागरीकले दर्खास्त दिन पाउने छन। भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन ।
सरकारले ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।








