चितवन । एसियामै पहिलो पटक मेसिन किन्न किसानलाई कर्जाको सुविधा सहित चितवनमा आजदेखि सलोन पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ हुँदैछ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, नेपाल सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा आजदेखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु हुने प्रदर्शनीको अहिले विहान ११ बजे उद्घाटन गरिने कार्यसमिति सदस्य सुनिता नमाफुकीले जानकारी दिनुभयो ।
प्रदर्शनीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उद्घाटन गर्नुहुनेछ । उहाँका अनुसार आजनै कृषि कर्जा मेलाको समेत उद्घाटन गरिनेछ । दिउसो नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले सो मेलाको उद्घाटन गर्नु हुनेछ । उक्त कर्जा मेलामा देशका १२ बैँकका सीइओ र करिव २४ वटा बैँकहरु सहभागी हुनेछन् । देशको कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्ने र लागत घटाएर उत्पादन बढाउन केन्द्रीत हुने प्रदर्शनीमा करिव २० देशमा उत्पादन भएका मेशीनहरु अवलोकन गरी खरिद गर्न सकिनेछ ।
आफूलाई आवश्यक मेशिन खरिद गर्न तत्काल बजेट नभए कागजात पुर्याउन सके सोही कर्जा मेलाबाट किस्तावन्दीमा मेसिन खरिद गर्न सकिने सुविधा थपिएको हो । साथै अहिले कृषि कर्जाको प्रकृयामा रहेका किसानहरुले आवश्यक परामर्श लिन पाउने सुविधासहित आवश्यक कागजातवारे समेत प्रदर्शनीमा ज्ञान लिन सकिनेछ । यो सुविधा एसियामै पहिलो अभ्यास भएको आयोजक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटवाल बताउनुभयो ।
प्रदर्शनीमा मेसिन हेर्न मात्रै नभई किसानले खरिद गर्ने सुविधा सहित उपलब्ध रहेकाले धेरै भन्दा धेरै किसान सहभागी हुन उहाँको आह्वान छ । साथै मेड इन नेपाल प्याभिलियन समेत रहेको र यहाँ नेपालमै उत्पादन हुनेगरेका कृषि प्रविधि हेर्न र खरिद गर्न सकिनेछ । १५० बढी प्रदर्शनीकर्ता रहने यहाँ २० भन्दा बढी मुलुकका कृषि यन्त्र उत्पादनकर्ता सहभागी हुने बताइएको छ । महासचिव कृष्ण शर्माका अनुसार २ हजार बढी कृषि उपकरण हेर्न सकिने र १ लाख बढीले अवालेकन गर्नेछन् ।
उहाँका अनुसार साना किसानदेखि ठूला किसानका लागि आवश्यक मेसिन उपकरण प्रदर्शनीमा प्राप्त हुनेछ । करिव २० करोडको कारोवार गर्ने अपेक्षा गरिएको छ ।








