चितवन । नेपालमा सातौ राष्ट्रिय कृषिगणना आगामी वैशाख ६ गतेबाट सुरु हुने भएको छ । प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक वैशाख ६ गतेबाट सुरु भएर जेठ १९ गतेसम्म ४५ दिन हुनेछ । कृषिगणना कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीका अनुसार गणनाको लागि तथ्याङ् संकलनको कार्य एउटै समय सीमामा दुई चरणमा सञ्चालन गरिनेछ ।
पहिलो चरणमा गणकहरुदद्वारा कृषक परिवारहरूको सूचीकरण कार्य गरिनेछ भने दोस्रो चरणमा तथ्याङ्क छनौट विधिबाट सुपरिवेक्षकहरुद्वारा छानिएका कृषक परिवारमा पुगि गणकहरुद्वारा कृषकले चलान गरेको जग्गा तथा पशुपन्छीपालन अन्यखेती लगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरु संकलन गरिनेछ । कृषि गणनाका लागि देशभर ६ हजार जना गणक खटिनेछन् भने १५ सय जना सुपरिवेक्षक र ७७ जना अधिकृत गरि सात हजार ५७७ फिल्ड स्तरको जनशक्ति प्रयोग हुनेछन ।
गणनाको लागि ७ वटा प्रदेश र ७० जिल्लामा कृषिगणना कार्यालय स्थपना गरिनेछ। नेपालको ७७ वटै जिल्लाका ७५३ वटा स्थानीय तहमा एकैसाथ कृषिगणना सञ्चालन हुनेछ । कृषक परिवारको सूची राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालभरका करिब ६८ लाख घरपरिवार मध्ये करिब ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइएको छ । ७५३ स्थानीय तहका तेह्र हजार पाँच सय ७८ गणना क्षेत्रहरुबाट करिव तीन लाख पचास हजार कृषक परिवारको छनौट गरी गणना गरिने प्रमुख भण्डारी बताउँछन् ।
नेपालको अर्थतन्त्रमा कृषिक्षेत्रको महत्वपूर्ण स्थान छ । ‘देशको कुल गार्हस्थ उत्पादनमा एक चौधाई भन्दा बढी योगदान कृषिक्षेत्रको रहेको छ । यो क्षेत्रको समग्र विकासको लागि चाहिने तथ्याङ्क उपलब्ध गराउनु नै कृषि मुख्य गणनाको लक्ष्य हो’ उनले भने । यसपालिको कृषिगणनामा कृषक परिवार सँगै समुदायमा आधारित कृषिकार्यका अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागत रुपले सञ्चालन गरेका व्यवसायिक कृषिकार्यहरुको पनि तथ्याङ् संकलन गरिने भण्डारीले जनाए । नेपालमा वि.सं. २०१८ सुरु भएको कृषिगणना अहिलेको गणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पूरा गर्नेछ । यसपालीको कृषिगणना संघीय प्रणालीको पहिलो हो । यसले ७५३ वटै स्थानीय तहसम्मका कृषि सम्बन्धी तथ्याहरु उपलब्ध गराउने भण्डारीले बताए ।
चितवनमा १७९ क्षेत्रमा हुँदैछ गणना
चितवनका सात स्थानिय तहका १७९ क्षेत्रमा कृषिगणना हुनेछ । देशमै सबैभन्दा बढी भरतपुुर महानगरपालिकामा ३७ क्षेत्रमा गणना हुनेछ । यस्तै रत्ननगरमा २५,खैरहनीमा २८,रातीमा २५, कालिकामा २२ , माडीमा २८ र इच्छाकामना गाउँपालिकामा १४ क्षेत्रमा कृषिगणना गरिने प्रमुख भण्डारीले जानकारी दिए ।
चितवनमा कृषिगणनाका लागि ६४ जना गणक ,१६ जना सुपरिवेक्षक र १ जना कृषिगणना अधिकृत खटिनेछन् ।








