चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आउँदै गरेको वैशाख ३० को स्थानीय तहको चुनावमा सहमति र सहकार्य स्थानीय तहबाटै हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा आज खनालले निर्देशन गर्ने र कुनै निर्णयलाई जबर्जस्ती पालना गर्न खोजियो भने त्यसको रिजल्ट प्रतित्पादक पनि आउन सक्ने बताए ।
उनले यसो भनिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यही स्टेजमा थिए । उनले स्थानीय तहको चुनाव भएका कारण यसको सम्पूर्ण अधिकार स्थानीय निकायलाई हुनुपर्ने बताए । कार्यक्रममा उनले भने, ‘माओवादी केन्द्र र नेपाली कांग्रेसको राजनीतिक मूल्य मान्यता र सिद्धान्त फरक छ । केन्द्रले एउटा निर्णय गर्ला, जिल्लाले कुन ढंगले अघि बढ्ने भन्ने कुरा सोच्ला ।
सहमति र सहकार्य गरेर अघि बढियो भने राम्रो नतिजा आउला ।’ उनले स्थानीय तहको चुनावमा स्थानीय तहमै अधिकार पत्याभूति हुनुपर्ने बताए । उनले भरतपुर महानगरको विकासको स्वेतपत्र ल्याउनसमेत महानगर प्रमुख र उपप्रमुखलाई ल्याउन आग्रह गरे ।
कार्यक्रममा उनले होडिङ बोर्डको विषयमा कुरा उठाउँदै सानोसानो कुराले पनि जनताको मन चिडाइरहेको बताए । भरतपुर महानगरले होडिङबोर्ड राखेबापत् धेरै कर लिएको गुनासो आइरहेको छ ।








