चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा बस पल्टिदा ३८ जना घाइते भएका छन् । इच्छाकामना ३ पृथ्वी राजमार्ग स्थित पानीधारामा आज (शनिबार) बिहान ९:२० बजे बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बस सडकमा पल्टिदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरु मध्ये २५ जनाको स्थानीय फिस्लिङ स्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । उनीहरु अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालक सहित ६ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । मेडिकल कलेज भरतपुरमा उपचाररत मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने चालकको अवस्था मध्यम अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।
यस्तै पाँच जनालाई उपचारका लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल लगिएको छ । बी एण्ड बी लगिएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने तीन जना मध्यम र दुई जना सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ । कांकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
बस पल्टिदा केही बेर सडक अवरुद्ध भएको थियो । पल्टिएको बस सडकबाट हटाएर राजमार्ग सुचारू गरिएको प्रहरीले जनाएको छ ।








