चितवन । नेपाली कांग्रेस चितवनले वडातहबाट सुझाव संकलन गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।गत शनिवारबाट वडा तहमा गएर सुझाव सकलन गरेको काङ्ग्रेसले ९८ वटै वडाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । चुनाव लक्षित घरदैलो अभियानका क्रममा सुझाव संकलन कार्य भइरहेको छ ।
‘घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत चौथो दिन आज मगलबार पनि ९८ वटै वडामा घरदैलो अभियान भैरहेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ५ दिने अभियान लगभग अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले वडातहमा कांग्रेसका सिद्धान्त, नीतिबारे सर्वसाधरणलाई प्रशिक्षण समेत गराउन अभियानले ठुलो सहयोग गरेको बताउनुभयो । वडाभित्रका टोल–टोलमा घरदैलो अभियान मार्फत कांग्रेसको पक्षमा जनमत ल्याइने खनालको भनाइ छ ।
आगामी स्थानीय तहको निर्वाचनमा यसपाली चितवनका धेरै वडाहरु जित्ने योजनामा कांग्रेस रहेको उहाँले बताउनुभयो । वडामा खटिएर गएका प्रतिनिधिहरुले टोल टोलमा समिति गठन, सर्वसाधारण तथा मतदातालाइ कांग्रेसमा मतदान गर्न अभिप्रेरित गर्ने काम भइरहेको कांग्रेस चितवनका सचिव सुर्य अर्यालले बताउनु भयो । ५ दिनसम्म वडामा रहेर प्रतिनिधिहरुले काम गर्ने छन् । ५ दिन पछि वडागत रुपबाट प्रतिबेदन पेश हुन्छ, त्यो प्रतिबेदन माथिको अध्ययन गरेर जिल्ला कार्यसमितिले एउटा खाका तयार गर्छ अर्यालले भन्नु भयो ।
पार्टीका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडातहमा खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा जितका लागि गर्नुपर्ने कामहरु लगायतका विषयमा पनि अध्ययन गर्ने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ । अभियान भोलि बुधबार सकिदै छ ।








