गैंडाको । वडाका विपन्न परिवारका तीन जनालाई दलित लक्षित कार्यक्रम अन्तरगत वडा नं. ५ को कार्यालयले सिलाई मेसिन दिएको छ । वडाबाट विनियोजित बजेटबाट वडाका तीनजना दलित महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको हो । ५ नं वडाको कार्यालयमा विहिवार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष नवराज कँडेलले उनिहरुलाई सिलाई मेशिन हस्तान्तरण गर्नुभएको हो ।
वडाध्यक्ष कँडेलले स्थानिय शोभा नेपाली, पार्वती सुनार र संगीता सुनारलाई सिलाई मेशिन हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा आफ्ना भनाईहरू रख्दै वडा अध्यक्ष कडेलले सिलाई मेसिन मार्फत आफ्नो आय बढाउन मेसिन प्राप्त गर्नेहरुलाई आग्रह गर्नुभयो । कँडेलले सिप भएर पनि मेसिनको अभावमा बस्नु परेका दिदिबहिनीहरुको आर्थिक विकासमा यसले थोरै भएपनि टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
वडाले यो शिर्षकमा प्रत्येक वर्ष वजेट बिनियोजन गर्ने गरेको र यसवर्ष कुल ४० हजार २ सय मुल्य बरावरको सिलाई मेसिन वितरण गरिएको वडासदस्य कुमारी रेखा पौडेलले जानकारी दिनुभयो ।
उक्त समारोहमा वडा सदस्यहरू कुमारी रेखा पौडेल सहित हरि ढकाल, भिमबहादुर कुमाल र पार्वती सापकोट एवं समाजसेवी कृष्ण पौडेल र खिमनन्द सापकोटाको पनि सहभागिता थियो ।








