चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर १२ ले चुनावी घरदैलोलाई तीव्रता दिएको छ । सूर्य ध्वजाबाहक वडाध्यक्षका उम्मेदवार लेखराज पन्त हरि र सदस्यका उम्मेदवारहरु सहित बुधबार बिहान नवरत्न टोल, मुनालचोक र सूर्य चोक क्षेत्रमा घरदैलो गरिएको छ । बुधबार नै दीपेन्द्र टोलमा पनि घरदैलो गरिएको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।
बुधबार बिहान भएको कार्यक्रममा नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । कार्यकर्तामाझ बोल्दै नेता पोखरेलले भरतपुरमा एमाले उम्मेदवारहरुको जीत सुनिश्चित रहेकाले उच्च मनोेबलका साथ प्रचारमा उत्रन आग्रह गर्नुभयो । “हाम्रा उम्मेदवारहरुको व्यक्तित्व, कार्यशैली, विकास र समृद्धिको खाका स्पष्ट भएर जनआकर्षण व्यापक छ ।
जनताको विश्वास र भरोसा पनि एमालेसँग नै रहेको छ” पोखरेलले भन्नुभयो । गठबन्धनसँग कुनै पनि हिसाबमा एमाले उम्मेदवार कमजोर नरहेको पोखरेलले बताउनुभयो । “जनमत, जनआकर्षण, एजेन्डा र उम्मेदवारको व्यक्तित्व सबै हिसाबले हामी अगाडि छौँ” उहाँले भन्नुभयो । भरतपुर–१२ मा एमाले र राप्रपाबीच चुनावी सहकार्य छ ।
एमालेबाट वडाध्यक्षमा लेखराज पन्त हरि, सदस्यहरुमा जमुना ढुङ्गाना, मीरा नेपाली र वीर बहादुर स्याङ्तान एवम् राप्रपाबाट सदस्यमा सञ्जयकुमार थापा उम्मेदवार हुनुहुन्छ । घरदैलो कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, पार्टी जिल्ला कमिटी सदस्य वडा ईन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष विमला भट्टराई, पार्टी वडा कमिटीका अध्यक्ष तीलप्रसाद न्यौपाने सहित ठूलो संख्यामा स्थानीय समुदायको सहभागिता रहेको थियो ।








