चितवन। जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर बिमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्का अनुसार निर्वाचनलाई लक्षित गरि जिल्ला सुरक्षा समितिको बैशाख १५ गतेको निर्णय अनुसार महत्वपूर्ण निकायहरुमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो ।
यी क्षेत्रमा जेठ २ गते सम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण्डमा समय थप गर्न सकिने उहाँले बताउनुभयो । निर्वाचनको समयमा प्रहरीमा प्रयाप्त जनशक्ति नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यी दुई क्षेत्रमा आन्तरिक काम नेपाल प्रहरीले गर्ने छ । सुरक्षा सेनाले दिने छ।” कारगारमा रहेका कैदी वन्दीलाई अस्पताल, कारागार लगाएतका स्थानमा लाने र ल्याउने काम प्रहरीले गर्ने छ ।
उहाँका अनुसार बिमानस्थलमा यात्रुहरुको चेक जाँच प्रहरीले नै गर्ने छ । हरेक निर्वाचनमा महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको छ । सोही अनुसार अहिले पनि सुरक्षाको जिम्मेबारी सेनाले लिएको हो । यही बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था समेत मजबुत बनाईएको छ ।
निर्वाचन सुरक्षा योजना अनुसार अहिले मतदान स्थलको सुरक्षाको अबस्थाका बारेमा जानकारी लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मतदान स्थलको निरिक्षण, अनुगमनका कामहरु भइरहेको छ । मतदान स्थलमा हुन सक्ने सम्भाबित घटनाहरुको समेत पूर्बानुमानका कामहरु समेत भइरहेको उहाँको भनाई छ ।








