काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ ।
पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधवार निर्देशन दिएको हो ।
समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।
त्यतिबेला कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ ।
कांग्रेस सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूबारे कुनै उल्लेख गरिएको छैन ।








