चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जालको प्रयोग गरि ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका वडा नम्बर ५ का ४० वर्षिय राजकुमार थापा मगर, चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ सिसाहनी का २८ वर्षिय शिवराज पाठक र धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर २ घर भइ हाल मकवानपुको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने सत्कार लुईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङका अनुसार उनीहरुले सामाजिक संञ्जाल (ईन्स्टाग्राम र ह्वाटसप)को प्रयोग गरी बिभिन्न व्यक्तिसंगबाट ठूलो रकम ठगी गरेको हुन । सामाजिक सञ्जालमा रहेका साथीहरुलाई उपहार पठाईदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० शारदानगर बस्ने आरती रानालाई पटक पटक गरि रु २ लाख ५३ हजार २ सय ४० र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ बस्ने विष्णु कुमारी राईलाई रु २ लाख ७५ हजार ६ सय ४५ ठगी गरेको गुरुङले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट प्रेम बहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्स्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ । सो परिचय पत्रका आधारमा रकम निकालि उक्त रकम सत्कार लुईटेल, राम कुमार तामाङ्, निशा कुसुम भट्टराई, लोक प्रसाद भूर्तेल, मञ्ज के.सी. र तोज बहादुर केसीको खातामा पठाउने गरेको पाईएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखत सम्बन्धि कसुरमा मुद्धा दायर गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विदेशीको फोटो राखि नक्कली खाता खोलि महिलालाई साथी वनाई ईटाली, अमेरिका, अष्टे«लिया, सिंगापुर, फ्रान्स जस्ता देशबाट बोलेको भनि उपहार पठाईदिने भनि पठाउदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ । यस्तै सोही मुद्धामा अन्य छ जना फरार रहेको र खोजीकार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।








