चितवन । कमरेड निमा चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर ८ गौरीगन्जलाई पाखा लगाउदै कमरेड निमा उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा कमरेड निमा १-० ले विजयी भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कमरेड निमाले गोल गर्यो । दोस्रो हाफको ३४ औं मिनेटमा भीष्म घिमिरेले फ्री किकमा गोल गरे । उक्त गोल नै निर्णायक बन्यो । कमरेड निमाका प्रदीप भण्डारी म्यान अफ दि म्याच चुनिए । कमरेड निमाले अब उपाधिका लागि मंगलबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
मंगलबार दोस्रो सेमिफाइनलमा शान्तिको किचन सौराहा र चौधरी मोटर्स खैरहनी भिड्नेछन् । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।








