काठमाडौँ। आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले आरोपित शिवराज श्रेष्ठसँगै विवाह गरेकी छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् । राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् ।
तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् । धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् ।
तर गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।








