काठमाडौँ । रातो मछिन्द्रनाथको रथलाई सामाजिक दूरी कायम गरेर आइतबार बेलुका तानिने भएको छ । कोरोना भाइरसबाट जोगिने स्वास्थ्य मापदण्ड पालना गरि पुल्चोकमा रहेको रथलाई केही पर पुर्याउने तयारी छ । १२० जना जति जम्मा भएर रथ तान्नेहरु माक्स र पन्जा लगाएर स्यानिटाइजर लगाउने र सामाजिक दूरी कायम गरेर रथ तान्ने ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तराम महर्जनले बताए । यसअघि रथलाई पाटन शहर पूरै घुमाउने गरिएकोमा पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि लगेर जात्रा बिसर्जन गरिँदैछ । जात्रालाई बिसर्जन गरेपछि रथलाई बुंगमति लैजाने चलन अनुसार भदौ २६ गतेसम्ममा बुंगमति पुर्याउने जनाइएको छ ।








