काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेश का एक(दुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्ज र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








