नवलपुर,असोज ९ । पूर्वी नवलपरासीको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा खसेको पहिरोमा एउटा बस पुरिंदा बसमा सवार एक जनाको निधन भएको छ । पहिरामा परी १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो । पूर्वबाट पश्च्मि जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका थिए । घाइते मध्ये पश्चिम रुकुमको आठविसकोठ गाउँपालिका १० बस्ने २५ बर्षको हरिषचन्द केसीको विहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपलिका निवासी २७ बर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।








