फाईल फोटो
हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी सडकमा ठूलो पहिरो गएको छ । पहिरो जाँदा सडक अवरुद्ध रहेको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीको भाल्टार क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर एवं सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए । पहिरो गएको क्षेत्रको कार्यालयको टोलीले शनिबार अनुगमन गरेको छ । ओझाका अनुसार पहिरो पन्छाउने काम शुरु भएपनि ठूलो पहिरो गएकाले यातायात सुचारु गर्न करिब एक साता लाग्नेछ । ‘ठूलो पहिरो गएकाले यातायात सुचारु गर्न करिब एकसाता लाग्छ, पुरै पहिरो पन्छाउन २ साता लाग्ने देखिन्छ ।’–उनले भने । चाडपर्व नजकिएकाले छिटो भन्दा छिटो यातायात सुचारु गराउने प्रयासमा कार्यालय लागेको उनको भनाई छ । गतबर्ष पनि त्यस क्षेत्रमा पहिरो गएर बर्षायाममा यातायात अवरुद्ध भएको थियो । सडक विस्तार गरेको क्षेत्रमा बर्षेनी पहिरो गईरहेको छ ।








