काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
उनले बिहीबार राती फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्। ‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ ।’
सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ।








