चितवन । चितवनमा २५ लाख रुपैँया रकम नदिए बाबुछोराको हत्या गर्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरेर २५ लाख रुपैँया नदिए सुवेदी सहित उनका छोराको हत्या गर्छु भन्ने मकबानपुका ५५ वर्षका रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अभियुक्त थापाले कार्तिक ८ गते साँझ पहिलो कल गरि मोटो रकम माग गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले अभियुक्त थापालाई कार्तिक १३ गते भरतपुरको मालपोत चोकबाट पक्राउ गरेको हो ।
मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगना भएका थापा भरतपुर महानगरपालिका वडा नं. ९ मा बस्दै आएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले पत्रकार सम्मेलनमा जानकारी दिए । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो ।
पक्राउ परेका थापा चितवन जिल्ला आदालतबाट डाँका मुद्धामा ९ वर्ष कैद सजाय तोकिएकोमा जेष्ठ १५ गते गणतन्त्र दिवशको अवसरमा साढे ४ वर्ष कैद भूत्तान गरि आम माफि पाएर छुटेको प्रहरीले जनाएको छ ।








