तनहुँ । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला तनहुँको दमौलीका दुई युवाले स्वदेशमै केही गर्ने अठोटका साथ सयपत्री फूलखेती सुरु गरेका छन् ।
व्यास नगरपालिका–४ सिमलटारका गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गरेका हुन् । तिहार नजिकिँदै गर्दा सिमलटारस्थित खेतमा सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले खेतको दृश्य आकर्षक बनेको छ भने दुवै युवा आफ्नो मेहनतको प्रतिफल बजारमा पुर्याउने तयारीमा छन् ।
बस्नेत र अधिकारीले खाली रहेको जग्गाको सदुपयोग गर्दै पहिलोपटक फूलखेती सुरु गरेका हुन् । बस्नेतले कार वास सेन्टरसमेत सञ्चालन गर्दै आएका छन् । खाली जग्गालाई उपयोगी काममा लगाउने सोचका साथ फूलखेती सुरु गरिएको बस्नेतले बताए ।
तिहारजस्ता चाडपर्वमा सयपत्री फूलको माग बढ्ने भए पनि बजारमा बाहिरबाट ल्याइएका फूलको प्रयोग हुने गरेको देखेपछि स्थानीयस्तरमै उत्पादन गर्ने सोच आएको उनको भनाइ छ । आफ्नै ठाउँमा फूल उत्पादन गर्न सकिने सम्भावना देखेर खेती सुरु गरेको उनले बताए ।
“बाहिरबाट फूल आउने गरेको देख्यौँ । हाम्रो ठाउँमा पनि फूल उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”, बस्नेतले भने, “बाहिरबाट आउने फूलको सट्टा स्थानीयस्तरमै उत्पादन भएको फूल प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामीले खेती सुरु गरेका हौँ ।”
दुई रोपनी जग्गामा गरिएको खेतीबाट प्राप्त उत्पादन र बजारको मागका आधारमा आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको बस्नेतले बताए । पहिलो प्रयास सफल भएमा थप जग्गामा सयपत्री फूलखेती गर्ने उनको योजना छ । यसबाट खाली जग्गाको सदुपयोग हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसरसमेत सिर्जना गर्न सकिने उनको अपेक्षा छ ।
तिहारमा घर, मठमन्दिर तथा विभिन्न स्थान सजाउन सयपत्री फूलको प्रयोग गरिन्छ । यस समयमा फूलको माग बढ्ने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सके किसान तथा उद्यमीलाई लाभ पुग्ने सम्भावना छ ।
स्थानीयस्तरमै फूल उत्पादन र उपभोग बढाउन सके बाहिरबाट आयात गरिने फूलमाथिको निर्भरता घटाउन सहयोग पुग्ने बस्नेतले बताए । स्वदेशमै सम्भावना खोज्दै फूलखेतीमा जुटेका दुई युवाको प्रयासले स्थानीय उत्पादनको प्रवर्द्धन र खाली जग्गाको सदुपयोग गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।








