हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर १ एपी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।
प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीसहितको चेकजाँच टोलीले शङ्का लागेर गाडी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा १९ वटा पोकामा प्याक गरिएको गाँजा फेला पारेको थियो। गाडीको बोनट, चालकको सिटमुनि खुट्टा राख्ने स्थान तथा चालकपट्टिको छेउमा रहेको सिटमुनि फल्स बटम बनाएर गाँजा लुकाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लास्टिकसहितको तौल उल्लेख गरिएको विवरणअनुसार बरामद गाँजाको शुद्ध तौल ४२ किलो ४१० ग्राम रहेको छ। पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोल निवासी करिब २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। बिर्जु गाडीचालक हुन् भने मन्जय सोही गाडीमा सवार थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिएका हुन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।








