काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गर्नुभएको हो । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उहाँको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको उहाँले बताउनु भयो । उहाँले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाउनु भयो ।
योग शुरुवाती चरणमा कुनै ईश्वरसँग सम्बन्धित नरहेको उहाँको दाबी छ । अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उहाँले बताउनु भयो । यसलाई नै आधार बनाएर हिड्नुपर्नेमा उहाँले जोड दिनुभयो । अरूको सम्पतीमा लोभ नगर्ने, आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उहाँको भनाई छ । अध्यक्ष ओलीले पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गर्नुभयो ।
त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उहाँको दाबी थियो । उहाँले भन्नुभयो, ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पतीमा लोभ नगर । आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि १ तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ । त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन । सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन । आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ ।
अब यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए, धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ’अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने सराप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् । भनेपछि ठप्प भए देवताहरू अब । अब देवता, बढी देवता जन्मिदैनन् । तर पार्वतीले सराप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ उहाँले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने बताउनु भयो । उहाँले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज अनुसन्धान र रैथाने ज्ञान सिप र परम्पराको खोजीलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।








