काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार वंगालको खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । यस्तै, राती प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








