चितवन । सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विरोधमा चितवनमा प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति चितवनले आज साँझ आयोजना गरेको विरोध प्रदर्शनमा मन्त्री किरातीको राजीनामा माग गरिएको छ । किरातीले आफ्नो भाषणमार्फत सनातन हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाका व्यक्तिहरु प्लेकार्ड र व्यानरसहित विरोधमा उत्रिएका हुन् ।
उनीहरुले आज साँझ इसाईको प्रवक्ता संस्कृति मन्त्री राजीनामा दे, धर्मान्तरणका मतियार होसियार, इसाइको मसिया सुनद किराती राजीनामा दे, संस्कृति मन्त्री भ्रष्ट हो नेपाल हिन्दु राष्ट्र हो लगायतका नारा लगाउँदै नारायणगढको पुलचोकमा विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेलले देशभन्दा माथि राजनीतिक पार्टी नहुने भन्दै सबै पार्टीहरुले किरातीको वक्तव्यको विरुद्धमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
कसैले मन्त्री किरातीको विरुद्ध नबोलेको खण्डमा ती राजनीतिक शक्तिहरुलाई सबै नेपाली मिलेर हराउनुपर्ने पौडेलको भनाइ थियो । मन्त्री किरातीले आफ्नो वक्तव्य नसच्याउने तथा प्रधानमन्त्रीको संलग्नताबारे प्रधानमन्त्रीले नबोलेमा आन्दोलनलाई देशव्यापी गराउने पौडेलले बताउनुभयो ।
कार्यक्रममा जय सनातन अभियान नेपालका अध्यक्ष घनश्याम पौडेल श्यामले विदेशीको इसारामा मन्त्री किरातीले हिन्दु धर्मको अपमान गरेका बताए । नेपालमा ९० प्रतिशतभन्दा बढी ओमकार परिवारका समुदाय बस्ने ठाउँमा कृश्चियन धर्म नमान्ने मान्छे संविधान विरोधी हुन् भनेर भन्नु मन्त्री किरातीको मुर्खता भएको उहाँले बताउनुभयो । आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढ्ने पौडेलको भनाइ थियो ।









