चितवन । पछिल्लो समय मुलुकमा बढ्दै गएको बलात्कारका घटना विरुद्ध चितवनका युवाहरुले सरकारलाई खबरदारी गरेका छन् ।
बलात्कारका घटना बढ्दै गए पनि बलात्कारमा संलग्नलाई कारबाही नहुँदा यसले अझै धेरै बलात्कारी जन्माउने भन्दै चितवनको भरतपुरस्थित चौबिसकोठीमा युवाहरुले आइतबार दिउँसो प्रदर्शन गरेका हुन् । एक बलात्कारी जोगिदा सयौँ बलात्कारी जन्मिन सक्छन् सरकार भन्दै युवाहरुले चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । बलात्कारका घटना बढ्दा समेत बलात्कार विरुद्ध सरकारले कडा कदम चाल्न नसकेको भन्दै सरकारलाई सचेत गराउन आन्दोलन गरिएको सहभागीहरुको भनाइ छ ।

भरतपुरमा भएको प्रदर्शनको संयोजन लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ बी टु तथा सामाजिक सञ्जालमा सक्रिय रहेका महिलाहरुको ग्रुप फिमेल्स रुम नेपालले गरेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘कहाँ छ सुरक्षा न छाउपडी, न क्वारेन्टिन न झुपडी’, ‘कसरी जोगिने हो सरकार, जताततै हुँदैछ बलात्कार’, ‘देख्दा बलात्कारको गति हरेक छोरीलाई चुनौती’लगायत नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले आइतबार दिउँसो तीन देखि चार बजेसम्म प्रदर्शन गरेका हुन् ।








