चितवन । चितवनमा अत्याधिक वायु प्रदुषण बढेको छ । वायु प्रदुषण बढेसँगै चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिनुभएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र सामुदायिक वनहरुमा यतिबेला ढडेलो लागेको छ । कतै घाँसे मैदान व्यवस्थापन गर्न र कतिपय प्राकृतिक कारणबाट पनि डढेलो फैलिएको छ । सर्वसाधारणहरुले पनि कृषिजन्य उत्पादनका फोहर र अन्य फोहर जलाउने गरेका कारण वायुमण्डलमा धुवाको मात्रा अत्याधिक भएको हो ।
सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदुषणका कारण आँखा पोल्ने, श्वासप्रश्वास बढ्ने, छाला चिलाउने लगायतका समस्या देखिन थालेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा. प्रतिक न्यौपाने वायु प्रदुषणको असर श्वासप्रस्वासमा पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “वातावरण प्रदुषित हुँदा दमका बिरामीहरुलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।”
उहाँले अक्सिजनको मात्रा कम हुने जस्ता समस्या हुने बताउनुभयो । वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढी हुँदा त्यसको असर जीवजन्त र मानवमा स्वास्थ्य पर्ने उहाँको भनाई छ । वायु प्रदुषण निरन्तर रहेमा बालबालिकामा दमको समस्या देखा पर्न सक्ने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “बालबालिकामा झिज्झिन्ने, रुघ–खोकी लाग्ने समस्या हुन सक्छ ।” वायुप्रदुषणका कारण मुख सुख्खा हुने, नाक सुख्खा हुने हुँदा नियमित पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ सेवन गर्न उहाँले सुझाव दिनुभयो ।
डा. न्यौपानेले भन्नुभयो “सकभर घरभित्रै बस्नुपर्छ, बाहिर निस्कनै परे माक्स लगाएर निस्कनुपर्छ ।” भरतपुरका अस्पताल श्वासप्रश्वासका बिरामीको संख्या बढ्दै गएको उहाँको भनाई छ । भरतपुर आखाँ अस्पतालका नेत्र रोग बिशेषज्ञ प्रा. डा.सुनु दुलाल वायुमण्डलमा भएको प्रदुषणका कारण टाउकोदेखि माथिका भागहरुलाई बढी असर गर्ने बताउनुहुन्छ । आँखा पोल्ने, बिझाउने, सुख्खा हुने जस्ता समस्या देखिने भन्दै उहाँले भन्नुभयो “वायु प्रदुषण बढ्दा आँखा पोल्ने बिझाउने हुन्छ, तर आँखा मिच्नु हुँदैन ।”
आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिन सक्ने तर्फ उहाँले सचेत गराउनुभयो । वायु प्रदुषणबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा समय समयमा सफा पानीले धुने, चिसो कपडाले पुच्छ्ने जस्ता काम गर्नुपर्ने उहाँले बताउनुभयो । एयर क्वालिटी इण्डेक्सले चितवन र आसपासका धेरै ठाउँमा डढेलो लागेको देखाएको छ ।








