हेटौँडा । मकवानपुरका यस वर्ष दशैँको समयमा कम सवारी दुर्घटना भएका छन भने १ जनाको मात्र मृत्यु भएको छ । कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते सम्म ९५५ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् । ट्रफिक नियम विपरीत गलत ढंगले चलाइएका, सवारी कागजात नभएका, यात्रुसँग बढी भाडा लिइएका साना ठुला गरेर ९५५ सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पाण्डेले बताएका छन् । त्यसैगरी दशैँ अवधिभर करिब १४ सवारी दुर्घटनामा परेको जसमा १ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उनले प्रष्ट खबरलाई बताएका छन् । यस बर्ष बागमती-५ मा भएको सवारी दुर्घटनामा एक वृद्ध पुरूषको मृत्यु भएको थियो । यता ट्राफिक प्रहरीले कारवाहीमार्फत आठ लाख ५५ हजार राजश्वसमेत सङ्कलन गरिएको जनाइएको छ । गत वर्ष दशैँ अवधिभर २३७ ट्राफिक कारवाहीमा परेका थिए भने सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । कोरोनाको जोखिम र सवारीसाधन कम चल्दा दुर्घटनामा कमी आएको हो भने सवारी कारवाहीको संख्यामा वृद्धि भने भएको छ।








