चितवन । गतबर्ष जस्तै यस बर्ष पनि चाडबाडलाई लक्षित गर्दै चितवन प्रर्दशनी केन्द्रमा पर्व मेला २०८१ गर्न लागिएको छ ।
चितवन उद्योग संघको आयोजना तथा वेश ग्लोबल प्राली र चितवन अटो मोबाइल एशोसियसनको सहआयोजनामा असोज १ गतेदेखि जुत्ता चप्पल मेला र काडा अटो शो २०८१ गर्न लागिएको हो । आज आयोजक र सहआयोजक संस्थाले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।
सो अवसरमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले चितवनमा आर्थिक गतिविधि चलायमान बनाउन र व्यवसायीलाई पनि राहत होस भन्ने हेतुले चितवन प्रर्दशनी केन्द्रमा पर्व मेला गर्न लागिएको जानकारी दिए ।
। ‘चितवन अहिले व्यापार व्यवसाय उद्यम नेपालमै दोस्रो स्थान छ , उनले भने , तर राजश्व योगदान मा निकै तल छ ।’ पछिल्लो समय आर्थिक शिथिलताले उद्योगी व्यवसायीलाई थला पारेको भन्दै उनले यस मेलाले जुत्ता चप्पल मेला र अटोमोबाइल क्षेत्रमा टेवा पुग्ने बताए ।
मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरि आकर्षक छुटमा ग्राहकले खरीद गर्न सकिने नेपाल फुटवेयर एशोसियसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा नेपाली कम्पनीका बेश लोबल प्रा.लि., शुभकामना फुटवेयर इण्डष्ट्रिज, लालीगुराँस फुटवेयर इण्डष्ट्रिज, भेनस सुज इण्डष्ट्रिज, पवित्रा शु इण्डष्ट्रिज प्रा.लि., आर्जन फुटवेयर एण्ड गार्मेन्ट इण्डष्ट्रिज प्रा.लि., सुरबी पोलिमर्स, शिखर शु इण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित ब्राण्ड र मोडलका जुत्ता, चप्पल पाइनेछ ।
स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउने उद्धेश्यसहित मेला आयोजना गर्न लागिएको उनको भनाई छ ।
मेलामा वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण सिर्जना गरिने आयोजक संस्थाले जनाएको छ ।
मेलामा स्थानीय जुत्ता, चप्पल उद्योगीहरुलाई कुल स्टल संख्याको ५% सम्म प्रदर्शकको रुपमा सहभागी गराईनेछ ।मेलामा करीब ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिने र हरेक जोर जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । मेला अन्तर्गत असोज २१ गतेलक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिने बताईएको छ ।
त्यस्तै वडादशैंको अवसर पारेर सवारी साधनहरु खरिद गर्ने प्रचलनलाई सहयोग पुरÞ्याउन असोज १६ गतेदेखि असोज १९ गतेसम्म काडा अटो शो समेत सञ्चालन गर्न लागिएको छ । अटो शोमा एउटै छानामुनी २० भन्दा बढी ब्राण्डका गाडी तथा मोटरसाइकलका स्टलहरु काडाका कोषाध्यक्ष यज्ञप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार मेला अवधिभर प्रदर्शनी स्थलमा नै बैंक तथा विमाको सुविधाका साथै पुरानो गाडीसँग नयाँ गाडीको सट्टापट्टाको सुविधा रहनेछ । अटो शोमा गाडी तथा मोटरसाइलहरु मध्ये करीब ८० प्रतिशत विद्युतीय सवारी साधनहरु रहने र न्यूनतम करीब ३० करोडको कारोबार हुने लक्ष्य लिइएको पौडेलले बताए ।
अटो शोमा सरल किस्ताबन्दी सुविधाको समेत प्रबन्ध गरिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । असोज २४ गते सम्म चल्ने पर्व मेलामा ५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।








