चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १५औं वार्षिकोत्सवको अवसरमा सदस्य सम्मानसहित खुल्ला रक्तदान कार्यक्रम बिहीबार नारायणगढमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा २८ जना महिला सहित ११५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चुकेले आर्थिक क्रियाकलाप मात्र नभई संस्थाले सामाजिक दायित्व पनि सफलतापूर्वक निभाउँदै आएको बताए । उनले हंसले सदस्य र समुदायप्रतिको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको जानकारी गराए ।
कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष तथा सो कार्यक्रमका संयोजक बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाको संक्षिप्त गतिविधि प्रस्तुत गरेका थिए । विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले सहकारीको यस्तो मानवीय र सामुदायिक प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरेले सहकारीहरूले आर्थिक विकाससँगै समाजसेवामा पनि अग्रसर हुनुपर्नेमा जोड दिए । सहकारी तथा रोजगार प्रवद्र्धन शाखा, भरतपुरका शाखा अधिकृत रोजी के.सी.ले सहकारीको योगदानका कारण समुदायले ठोस लाभ लिइरहेको तथ्य प्रस्तुत गरिन्। चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भिष्म प्रसाद खनालले सहकारीहरूले आगामी दिनमा अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे । जिल्ला सहकारी संघ, चितवनका सञ्चालक बालकुमार श्रेष्ठले वर्तमान अवस्थामा सहकारीको सफलतामा सदस्यहरूको सक्रियताको भूमिका रहेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारीका सदस्यहरूको योगदानको प्रशंसा गर्दै वार्षिकोत्सवको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । उनले सहकारीले सामुदायिक विकास र सदस्यहरूको जीवनस्तर उकास्न निरन्तर योगदान दिँदै आएको उल्लेख गरे । कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका कार्यवाहक प्रमुख भरत बिक, भरतपुर महानगरपालिका वडा नं . १२ का वडाध्यक्ष लेखराज पन्त, भरतपुर महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण ढकाल, नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्मा, संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा संस्थामा उत्कृष्ट बचत कारोबार गर्ने ३४ जना, उत्कृष्ट ऋण कारोबार गर्ने १८ जना, बाल बचतकर्ताहरू ७ जना, ८० वर्ष पूरा गरेका १७ जना ज्येष्ठ सदस्य, विद्यावारिधि उपाधि हासिल गरेका ५ जना तथा २ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।








