काठमाडौँ । आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइँदै छ ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम तथा तराईको झापामा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गरिँदै आएको छ । तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन ।
वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको वि. सं. २००५ सालमा निधन भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए ।
फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
फाल्गुनन्दले समाज सुधारकाका लागि वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।








