काठमाडौं । पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जाने क्रम बढिरहेको छ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको पदावधि सकिएपछि कुलमान घिसिङ बिदा भएकाले लोडसेडिङ हुन लागेको धेरैले अनुमान गरेका थिए । तर, उर्जा मन्त्रालयले लोडसेडिङ हुन नदिन प्राधिकरणलाई निर्देशन दियो । त्यसपश्चात पनि बत्ति नगएको भने होइन । अहिले उज्यालो पर्व अर्थात् तिहारको समयमा पनि झिलिमिली गर्नै नपाइने हो कि भन्ने आशंका बढेको छ । यसैबीचमा प्राधिकरणले भने तिहारमा बत्ति नजाने र ढुक्क भएर झिलिमिलीका साथ दिपावली गर्न र तिहार मनाउन आग्रह गरेको छ । प्राधिकरणले तिहारको समयमा माग जति बिजुली आपूर्ति हुने जनाएको छ । तिहारको समयमा धेरै उद्योग कलकारखाना बन्द हुने भएकाले झिलिमिली बत्तीले मात्रै धेरै लोड नबढ्ने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । प्राधिकरणले पोहोर लक्ष्मीपूजाको दिनको पिक डिमान्डको तुलनामा यसपालि लोड कम हुने प्रक्षेपण गरेको छ । पोहोर तिहारमा मुलुकभरका सबै होटल पूर्ण रूपमा सञ्चालनमा थिए । ‘अहिले अधिकांश होटल बन्द रहेकाले बिजुलीको लोड कम हुने प्रक्षेपण गरेका छौं’ तिम्सिनाले भने । लक्ष्मीपूजाको दिन देशभर १३ सय मेगावाट विद्युत माग हुने प्राधिकरणको अनुमान छ । यो माग पुरा गर्न प्राधिकरण सक्षम रहेको तिम्सिनाले बताए । गएको वर्ष लक्ष्मीपूजाको दिन ११ सय १० मेगावाट बिजुलीको माग भएको थियो । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिनमा जलाशययुक्त कुलेखानीका सम्पूर्ण आयोजना सञ्चालनमा ल्याउने तिम्सिनाले जानकारी दिए । प्राधिकरण मातहतका आयोजनाबाट ५३० मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ७५० मेगावाट र भारतबाट एक सय ६० मेगावाट आयात गरेर लोड व्यवस्थापन गर्ने तयारी रहेको उनको भनाई छ । लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ३०० मेगावाट बिजुली माग हुने प्रक्षेपण गरेको छ । सो दिन विद्युत् अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र र विद्युत्गृहलाई तयारी हालतमा राख्ने बताइएको छ ।








