भरतपुर । सञ्चारीका समुह बागमती प्रदेशले आयोजना गरेको लैंगिक हिंसा तथा विभेद विरुद्धको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । तीन दिन सम्म भर्चुअल माध्यमबाट भएको अन्र्तक्रिया कार्यक्रममा महिलामाथि हुने विभेद, यौनिक हिंसा, घरेलु हिंसा, श्रमशोषण लगायतका घटना निरुत्साहित गर्न पत्रकारिताले कसरी सघाउने भन्नेबारे छलफल भएको थियो ।
छलफलमा सञ्चारीका केन्द्रीय अध्यक्ष नीतु पण्डितले महिलाको विषय वस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “महिला सम्बन्धी लेखहरु कम हुदै गएका छन् । तर, महिला माथि हुने गरेका अत्याचार कम भएको छैन । महिलाको हरेक पक्षको समाचार आउन आवश्यक छ। छोरीको महत्व समाजलाई बोध गराउन लाग्नुपर्छ ।”
तीन दिनसम्म चलेको अन्र्तक्रियामा नेपालमा महिलाको अवस्था, कानुनको कार्यान्वयन र सरोकारवाला निकायको भुमिकामा रहेर छलफल भएको थियो । कार्यक्रममा बागमति प्रदेशका २४ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।








