चितवन । शिवशिखर बहुउद्देशीय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा हाजिर हुन आएका फरार प्रतिवादी अमिश राजभण्डारीलाई चितवन जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार पठाएको छ ।
अदालतका न्यायाधिस दयाराम ढकालको इजलासले सोमबार ५८ लाख रुपैयाँ धरौटी लिएर राजभण्डारीलाई छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि राजभण्डारीलाई कारागार पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । शिवशिखरको नारायणगढ, टाँडी र मुग्लिन सेवा केन्द्रका गरी कुल १३ हजार १९९ जना बचतकर्तामध्ये लक्ष्मी न्यौपानेसमेत एक हजार ८९१ जनाको कुल ६६ करोड १४ लाख २४ हजार १२४ रुपैयाँ ठगी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सहकारी ठगीका प्रतिवादीहरू केदारनाथ शर्मा, शुशिल वानिया, लिलानाथ गौतम, गिता शर्मा, तेज बहादुर तमाङ, अमिश राजभण्डारी, राजु शाखकर्मी, दिपक बहादुर ऐर पुष्कर मल्ल, युवराज थापा, भोजराज पौडेल, बीचन्द्र सुवेदी, सुवाषचन्द्र सुवेदी र जुयस भट्टराई लगायत रहेका छन् । उनीहरुविरुद्ध गएको वैशाख २७ गते मुद्धा दर्ता भएको हो ।
प्रतिवादीहरुले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको देखिँदा निज प्रतिवादीहरूलाई सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय गरी उनीहरुबाट बिगो रकम माग गरिएको छ ।








