बन्दीपुर । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ ।
हाल उहाँले मासिक दुई लाख आम्दानी लिने गरेको गुरुङले बताउनुभयो । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उहाँले बताउनुभयो । “पोखरा र काठमाडौँमा काम भइरहेको छ ।
ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भन्नु्भयो । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । “व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उहाँले भन्नुुभयो । रासस








