गैँडाकोट । ‘हाम्रो आवाज, लागुऔषधको दुर्व्यसनबाट सुरक्षित समाज’ भन्ने नाराका साथ गैँडाकोटमा सञ्चालन भइरहेको सप्ताहव्यापी अभियान अन्तर्गत आज एक विशेष कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक सेवा केन्द्र गैँडाकोट र इलाका प्रहरी कार्यालय गैँडाकोटको संयुक्त पहलमा नगर क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्ग किनारमा अवैध रूपमा उम्रेका गाँजाका बोटहरू नष्ट गरिएको हो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र गैंडाकोटका अध्यक्ष गोविन्द हरि पौडेलले गाँजालाई दुर्व्यसनको सुरुवाती चरण भन्दै यसको जरैदेखि नियन्त्रण आवश्यक रहेको धारणा राखे। उनले प्रहरी र समुदायबीचको सहकार्यले मात्र लागुऔषधविरुद्ध प्रभावकारी प्रतिकार सम्भव हुने स्पष्ट पारे।
त्यसैगरी, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी सहायक निरीक्षक सुभाष थापा मगरले समाजमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय तह, संघ–संस्थाहरू र नागरिक स्वयं पनि जागरुक हुनुपर्ने आवश्यकता औँल्याए।








