काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशको भू-भागमा सामान्यदेखि आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, राती सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








