चितवन । चितवनको कालिका नगरपालिका- ७ गैडेखोलाका ७५ वर्षिय वृद्ध लाल बहादुर बस्नेतले आफूले पाउँदै आउनुभएका वृद्ध भत्ताको रकमबाट वडाका बिपन्न परिवारको नि:शुल्क स्वास्थ्य वीमा गरिदिनुभएकाेछ ।
वृद्ध बस्नेतले कालिका- ७ का वडा अध्यक्ष कमलराज मुक्तानको सहयोगमा राजकुमार महतो, बिक्रमी बि.क र छविलाल कुमालको गरि ३ जना बिपन्न परिवारको रू १० हजार ५ सय (एक वर्ष) को नि:शुल्क स्वास्थ्य वीमा गरिदिनुभएको हो ।
बस्नेत र उहाँकी ७० वर्षिया धर्म पत्नी हिरा कुमारी बस्नेतले स्वास्थ्य वीमालाई तिर्नको लागि रकम वडा अध्यक्ष मुक्तानलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै बस्नेतले आफूले पाउदै आएको वृद्ध भत्ताक रकमबाट बिपन्न परिवारको नि:शुल्क स्वास्थ्य वीमा गरिदिदा निकै पुन्यको काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यदि मैले यो रकम बिपन्न परिवारलाई खानेकुरा किनेर दिएको भए जम्मा एक छाक हुन्थ्यो, आज मैले नि:शुल्क वीमा गरिदिएपछि ३ घर परिवारले एक वर्षको लागि नि:शुल्क स्वास्थ्य लाभ लिन पाउनेछन्, मेराे लागि यही नै ठूलो धर्म हो ।”
७५ वर्षिय वृद्ध बस्नेतको श्रीमति, ३ छाेरा, २ छोरी गरि ५ वटा सन्तान रहेकाछन् ।
वडाले गर्नुपर्ने काम यी ७५ वर्षका वृद्ध बुबाले गरिदिदा निकै खुसि लागेको वडा अध्यक्ष मुक्तानले बताए ।








