चितवन । कोरोना कहरका कारण बन्द रहेको चितवनको पटिहानीमा रहेको अम्ब्रेला स्ट्रीट खुलेसँगै पर्यटकहरुको चहलपहल पनि बढेको छ । कार्तिक १५ देखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा सुरूवाती दिनभन्दा दसैँतिहारजस्ता प्रमुख पर्वहरुको विदामा थुप्रै मानिसहरुको चहलपहल देखिएको हो । सञ्चालनको सुरूवाती दिनमा सुनसान देखिने अम्ब्रेला स्ट्रीटमा अहिले दिनकै तीन हजार पैतिस सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । सुरूवाती दिनमा संख्यात्मक हिसाबले कम भए पनि लकडाउनपछिको अवस्थामा चाडबाडसँगै आन्तरिक पर्यटकहरुको आगमन सन्तोषजनक देखिएको अम्ब्रेला स्ट्रीटका अध्यक्ष निलकण्ठ तिवारीले बताए। अम्ब्रेला स्ट्रीट घुमघाम गर्न पुगेका सर्वसाधारणहरु पनि अम्ब्रेला स्ट्रीटमा रहेको रङ्गीबिरङ्गी छाताले ढाकेको छाना र राप्तीकिनारमा पुगेपछि साँझपखको सुनौलो सूर्यास्त नियाल्न मन परेको बताउछन्। राप्तीकिनारको आडैमा रहेको चितवन राष्ट्रिय निकुञ्जको जंगल र त्यहाँ आउने जनावर हेर्न अझ भ्यु टावर र इको पार्क निर्माण गर्दिए थप मनोरञ्जन मिल्ने आगन्तुकहरुको भनाइ छ। पटिहानि मा सोचे भन्दा धेरै आन्तरीक पर्यटकको भिड बढे पनि लामो समय पर्यटकलाई टिकाउन नसकिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलिया बताउँछन् । उनले घुम्ने ठाउँ प्रयाप्त नहुदा पर्यटकलाई लामो समय टिकाउन सकिएन त्यसैले अब नजिकै रहेको निकुञ्जको वनहरुमा रहेको खाली जमिनमा पार्कहरु निर्माण गरेर थप पर्यटकको बसाइँ लम्बाउने तयारी भइरहेको बताउछन् ।








