चितवन । नारायणी नदी किनार नारायणगढमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा रकहेड्स ब्याण्ड र सृजना खत्री हाउडे मायाले दर्शक झुमाएका छन् । शुक्रबार साँझ भएको साँस्कृतिक कार्यक्रममा रकहेड्स ब्याण्ड र सृजना खत्रीले प्रस्तुति दिएका थिए ।
यस्तै युवा पुस्ता माझ निकै लोकप्रिय द रकहेड्स ब्याण्डको ‘भावना’ ‘हजार जन्म’ ‘सहारा’ लगायतका चर्चित गीत गाउँदा दर्शक झुमेका थिए । यस्तै ‘नौटंकी माया’ ‘डबल माया’ लगायतका चर्चित गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्चजन प्रदान गरेकी थिईन् । युवा पुस्ता माझ निकै लोकप्रिय द रकहेड्स ब्याण्ड आउने भएपछि दर्शकहरुको भिड लागेको थियो ।
यसैबीच महोत्सवमा आज चर्चित लोक दोहोरी गायिका प्रिती आले र रवि रिमाल आउनेछन् । आज शनिबार पनि भएकोले महोत्सवमा आउने दर्शकको संख्या बढ्ने अपेक्षा गरिएको छ । सिर २ गतेसम्म चल्ने महोत्सवमा हरेक दिन दर्शकहरुको उपस्थिति बढ्दो क्रममा रहेको महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए । महोत्सवमा व्यापिरिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ ।
लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलो पटक महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने महोत्सव संयोजक विकल क्षेत्रीले बताए ।
महोत्सवमा भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।








