चितवन । उद्योग वाणिज्य संघ चितवनको नेतृत्व वास्तविक व्यवसायीको हातमा हुनुपर्नेमा उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदका उम्मेदवार सिरिष पन्तले जोड दिनुभएको छ। पन्तले संघलाई व्यक्तिगत आकांक्षा पूरा गर्ने थलो नभई दैनिक व्यवसाय भोगिरहेका उद्योगी–व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले भन्नुभयो, “वास्तविक व्यवसायी संघमा आउनुपर्छ। बिजनेस छ मात्रै भन्ने राजनीति गर्नेले उद्योगी–व्यवसायीको पीडा कसरी बुझ्छ? जसले बजारको उतारचढाव भोगेको छ, उसैले मात्र हकहितका लागि ठोस काम गर्न सक्छ।”
पछिल्लो समय बजार सुस्तता, बढ्दो खर्च, नीतिगत अन्योल र अव्यवस्थित व्यवस्थापनका कारण व्यवसायीहरू दबाबमा परेको उल्लेख गर्दै पन्तले संघको नेतृत्व जिम्मेवार, सक्रिय र व्यवसायमै संलग्न व्यक्तिको हातमा हुनुपर्ने बताउनुभयो । युवा ऊर्जा र व्यवसायिक सोचका साथ अघि बढेको उल्लेख गर्दै पन्तले संघलाई भाषणमा सीमित नगरी समस्या पहिचान, समाधान र परिणाम देखाउने संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“अब कुरा होइन, काम र परिणाम चाहिन्छ,” भन्दै उहाँले सबै व्यवसायी बाँच्न पाउने वातावरण निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य भएको स्पष्ट पार्नुभयो।
पन्तले उद्योगी–व्यवसायीको हकहित, व्यवसायमैत्री नीति, पारदर्शी नेतृत्व र दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै परिवर्तनका लागि एकजुट भई आफूलाई समर्थन गर्न उद्योगी–व्यवसायीलाई आह्वान गर्नुभयो।








