काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए । शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको र उनको नेपाल मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको डीएसपी कार्कीले बताएका छन् । कार्कीका अनुसार तगारीमा कोइलाको आगो बालेको देखिन्छ भने छेउमा इलेक्ट्रिक हिटर पनि बलिरहेको थियो । ढोका र झ्याल पूरै बन्द थिए । कोठामा भेन्टिलेसन पनि थिएन । उनीहरको निस्सासिए मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । हिटर जोडेर तगारीमा आगो बाल्दै बच्चाको सेकताप गरिरहेका बेलै यो घटना भएको प्रहरीको अनुमान छ । श्रीमान-श्रीमती पलेंटी कसेर बसेको र घोप्टो परेर ढलेको अवस्थामा फेला परेका थिए । पेम्बीले बच्चालाई दूध चुसाइरहेको देखिन्छ । किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुवा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








