चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष पदका उम्मेदवार शिरीष पन्तको फेसबुक ह्याक गर्ने प्रयास भएको छ ।
संघको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार पन्तले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। पछिल्लो समय उनले सामाजिक सञ्जाललाई प्रमुख प्रचार माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्। फेसबुकमार्फत बुस्ट गर्दै मत माग्ने र अभिव्यक्ति सार्वजनिक गरिरहेका पन्तमाथि साइबर आक्रमणको प्रयास भएको जनाइएको छ।
पुस २१ गते हुने उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा अध्यक्ष पदका लागि शिरीष पन्त र चिरञ्जीवी सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा आफ्नो टिमले जित निकाल्ने दाउमा रहेको पन्तको दाबी छ।
उम्मेदवार पन्तले आफूविरुद्ध कुनै पक्षबाट साइबर आक्रमण सुरु भएको बताएका छन्। उनले भने,
“मेरा सामाजिक सञ्जालमाथि आक्रमण सुरु भएको छ। फेसबुक ह्याक गर्ने प्रयास भइरहेको छ। सायद प्रचार–प्रसार व्यापक भएकाले यस्तो भएको हुन सक्छ।”
घटनाबारे थप अनुसन्धान तथा आवश्यक सुरक्षा सतर्कता अपनाइने बताइएको छ।








