चितवन । चितवनमा आयोजना हुन गइरहेको नारायणी एक्सपो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। यही पुस ३० गतेदेखि माघ १४ गतेसम्म सञ्चालन हुने एक्सपोको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ। बाँकी तयारी पुस २८ गतेभित्र सम्पन्न गरिने बताइएको छ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुरको आयोजनामा हुन लागेको यस एक्सपोमा २०० भन्दा बढी व्यावसायिक, औद्योगिक, कृषि, पर्यटन तथा सेवामूलक स्टलहरू रहनेछन्। स्वदेशी उत्पादनको प्रवर्द्धन, स्थानीय उद्यमको प्रोत्साहन तथा साना तथा मझौला व्यवसायलाई बजार उपलब्ध गराउनु एक्सपोको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।
नारायणी एक्सपो २०८२ का विशेष आकर्षणका रूपमा विश्वप्रसिद्ध सहरहरूको थिम–सेटअप प्रस्तुत गरिनेछ। लन्डन, पेरिस, स्ट्याचु अफ लिबर्टी र काश्मिर भ्यालीजस्ता स्थानहरूको झल्को दिने सजावट दर्शकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। यसका साथै विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति, बालबालिकामैत्री गतिविधि तथा अन्तर्राष्ट्रिय स्वादका परिकारहरू समेटिएको फुड कोर्टको व्यवस्था गरिएको छ।
एक्सपोमा सुरक्षा, स्वच्छता, पार्किङ व्यवस्थापन तथा दर्शकमैत्री सेवा प्रणालीलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ। करिब एक लाख दर्शकले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको छ, जसले चितवनको आर्थिक तथा पर्यटन गतिविधिमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
एक्सपो अवलोकनका लागि सर्वसाधारण टिकट शुल्क १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ भने अपाङ्ग व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले सार्वजनिक विदा तथा चाडपर्वको अवसर पारेर परिवारसहित नारायणी एक्सपो २०८२ अवलोकन गरी कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गरेको छ।








