चितवन । पूर्वी चितवनमा आइतबार मकवानपुर घर भएको प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा मकवानपुरको आमभञ्ज्याङका घर भएका सुजन न्यौपाने रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो । राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको हो ।








